यू-१९ एसिया कप क्रिकेटको तालिका सार्वजनिक

भाद्र ०४, काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिखमा खेल्नेछ ।

समूहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ । ८ राष्ट्र सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन । प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । प्रतियोगिताका लागि नेपाली टिमले दुई साता अगाडीदेखि प्रशिक्षण गरिरहेको छ ।

प्रतियोगिताको तयारीका लागि नेपालले श्रीलंकामा नैं केही दिन बन्द प्रशिक्षण तथा तिन वटा अभ्यास खेल खेल्नेछ । नेपालले यू १९ एसिया कपका लागि तयारी सुरु गरिसकेको छ । एसीसीबाट स्वीकृति आउन ढिला भएपछि १२ अगस्टदेखि मात्रै औपचारिक प्रशिक्षण सुरु गरेको थियो ।

प्रतियोगिता सुरु हुनु १० दिनअघि नै श्रीलंका जाने नेपाली टिमले त्यही केही अभ्यास खेल पनि खेल्ने तयारी गरेको छ । त्यसका लागि एसीसीले समन्वय गरिरहेको नेपाली टिमका प्रशिक्षक विनोद दासले बताएका थिए । दासले नेपालले पाकिस्तान र अफगानिस्तानसँग श्रीलंकामा अभ्यास खेलका लागि आग्रह गरे पनि त्यसबारे कुनै जवाफ नआएको बताए ।

Comments

comments