पानी र बुद्ध

पानीको महिमा ठूलो छ, किनकि सृष्टि र अस्तित्व नै यसमा अडेको छ । वैज्ञानिकहरूको भनाइ छ पृथ्वीको पहिलो जीव साढे तीन अर्ब वर्ष पहिले समुद्रको कतै तातो पानीको मुहानतिर भएको थियो । मानिस त धेरै पछि आएका हुन्, करिब दुई लाख वर्ष पहिले र ती जहाँबाट देखा परे पनि तिनको सभ्यता चाहिँ नदीको किनारमै विस्तार भयो ।

औसतमा मानव शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ । अर्थात ७२ केजी तौल हुँदाको वयस्क शरीरमा ४२ लिटर पानी हुन्छ । उसको शरीर अर्बौंको कोषहरूले बनेको हुन्छ, ती प्रत्येकलाई पानी नभई हुँदैन । त्यसैले बेलाबेला उसलाई पानीको प्यास लाग्छ र पानीको अभावमा ऊ छटपटाउँछ । आफ्नो शरीरबाहेक मानिसका सबै क्रियाकलाप निम्ति पनि पानी नभई हुँदैन । सम्पूर्ण हिसाब लगाउँदा मानिसको जीवन निर्वाह निम्ति प्रति दिन करिब ४५ लिटर पानीको आवश्यकता पर्छ तर अनुमान लगाइँदै छ – आगामी सन् २०२५ सम्ममा विश्वको आधा जनसङ्ख्याले पानीको हाहाकार झेल्नु पर्नेछ ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ
(सम्भवत बाह्य ग्रहका “मानिस”ले हामीलाई पृथ्वीबासी नभनी जलबासी भन्दा हुन्) तर हामीले प्रयोग गर्ने पानी भने यति धेरै छैन । यदि पृथ्वीमा भएभरको पानीलाई चलनचल्तीको एक घैंटो मान्ने हो भने हामीलाई उपलब्ध पानी (फ्रेसवाटर) भनेको एक अँजुलीमात्र हुन आउँछ । बग्नु पानीको प्रकृति हो, धोइपखाल्ने वा घोल्ने उसको चरित्र हो, जलचक्रको कारण ऊ फेरि शुद्ध बन्छ तर मानिस पानीमाथि आफ्नो नियन्त्रण खोज्दैछ जुन कलहको कारण बन्न जान्छ । बिगत पाँच हजार वर्षको मानव इतिहासमा पानीकै निम्ति २६५ वटा लडाईं भइसकेको अनुसन्धानकर्मीहरू बताउँछन् । एकथरि विद्वानहरूका अनुसार बुद्धको गृहत्याग पनि यस्तै पानीसँग जोडिएको लडाईं थियो ।

बुद्ध शाक्य बंशका राजकुमार थिए, सिद्धार्थ उनको नाम थियो । दरबारका सबै सुखसुविधा अनि राजा बन्ने अवसरसमेत त्यागेर उनले प्रव्रज्या (सन्यास) अपनाइ वनबास गए । यद्यपि उनको गृहत्याग ज्ञानको खोजी निम्ति बन्यो, यसको पृष्ठभूमिका विषयमा भने विद्वानहरूको धारणा फरक पाइन्छ । डा. भीमराव अम्बेडकरका अनुसार सिद्धार्थको गृहत्याग पानीको राजनीति र युद्धसित जोडिएको छ । ती उनै अम्बेडकर हुन् जसले भारतको संविधान लेखे र बुद्ध दर्शनका उपासक अनि ठूला अन्वेषक बने । अम्बेडकरद्वारा लिखित ‘दि बुद्ध एण्ड हिज धम्म’मा सिद्धार्थ गौतमले कुन परिस्थितिमा गृहत्याग गरे भन्ने ’bout तर्कपूर्ण विस्तृत व्याख्या पाइन्छ ।

शाक्य बंशको राज्य कपिलवस्तुमा थियो र यो कोलियसँग जोडिएको थियो । ती दुई राज्यलाई रोहिणी नदीले छुट्याएको थियो । शाक्य र कोलिय दुवैले रोहिणीको पानीबाट आ–आफ्ना खेतमा सिँचाई गर्थे तर कसले पहिले र कति भन्ने विषयमा ती दुईबीच प्रत्येक वर्ष विवाद हुने गथ्र्यो । यसै क्रममा एउटा वर्ष विवाद चुलिएर आपसमा मारपिट चल्यो र त्यसले गम्भीर रूप लियो । शाक्य सेनापतिले कोलियविरुद्ध युद्ध घोषणा गर्ने हेतुले सङ्घमा प्रस्ताव ल्याए । शाक्यहरूको सङ्घ एक प्रकारले संसद्जस्तो थियो । राजकुमार सिद्धार्थ पनि सङ्घका सदस्य थिए, उनले प्राकृतिक स्रोतका रूपमा रहेको पानीकै लागि मारकाट गर्नु नपर्ने बरु कोलियहरूसँग आपसी सल्लाहमा पानीको उपयोग गरी सधैँंको लागि युद्ध टार्न सकिने बताए । सेनापतिले लडाईंमा अग्रसर हुनु क्षेत्रीय धर्म भएको ढिपी कसे भने सिद्धार्थले धर्मको सिद्धान्तअनुसार शत्रुताले शत्रुतालाई नष्ट गर्दैन र शत्रुतालाई केवल मित्रताले मात्र समन गर्न सक्छ भन्ने दार्श्निक तर्क दिए ।

यसप्रकार ती दुईको कुरा विल्कुलै फरक भयो जुन छलफलबाट टुङ्गो लाग्न सकेन । अत, उक्त दुई प्रस्तावमा छिनोफानो गर्न सङ्घमा मतदान गरियो, जसमा सेनापतिले बहुमत प्राप्त गरे । सङ्घको नियमअनुसार अल्पमतमा परेका राजकुमार सिद्धार्थलाई अब तीन वटा विकल्पहरूमध्ये एउटा छान्नु पर्ने बाध्यता भयो । क) सेनापतिको कुरामा सहमति जनाएर युद्धमा भाग लिने ख) मृत्युदण्ड या निर्वासनमा जाने ग) समाजबाट बहिस्कृत हुँदै परिवारका सदस्यहरूको जायजेथा हरण गराउन राजी हुने । पहिलो उनले स्वीकार गर्ने कुरै भएन । तेस्रोमा उनी भन्छन्– परिवारको के दोष छ र उहाँहरूलाई सजायँ दिलाउनु ? त्यसैले सिद्धार्थ दोस्रो विकल्प रोज्छन् र भन्छन् “मलाई फाँसी दिनोस् वा देश निकाला, म खुशीसाथ स्वीकार गर्छु । सङ्घमा अनेक तर्क्वितर्क हुन्छ, सेनापति सिद्धार्थलाई मृत्युदण्ड दिएर त्यसको दोष लिन चाहँदैनन् र पुनः छलफलपछि निर्वासनमा पठाउने निधो हुन्छ । यो नै राजकुमार सिद्धार्थको गृहत्यागको आधार बन्दछ साथै ज्ञान प्राप्तिको मार्ग पनि ।

नेपालमा छ हजारभन्दा बढी नदीनालाहरू छन्, हाम्रा कतिपय बस्तीहरूको सीमाङ्कन तिनै नदीबाट गरिएको छ । यस्तै कुनै नदीछेउको गणराज्यमा २५ सय वर्षअघि बुद्धको जन्म भयो, प्राकृतिक स्रोतका रूपमा रहेको पानीको प्रयोगमा आपसी लडाईं होइन मिलेर प्रयोग गर्दा त्यो दिगो रहने मान्यताका लागि उनले आफ्नो जीवन दाउमा राखे । यतिबेला नेपालले ठूलो बलिदानी र राजनीतिक छलफलपछि सङ्घीयतामा जाने निधो गरिसकेको छ । पहिचानको सवालबाहेक अब प्राकृतिक स्रोत खासगरी पानीको बाँडफाँटको मुद्दा पनि उठ्ने छ । यहाँनेर सम्झिनु पर्ने कुरा के छ भने हरेक वर्ष पहाडमा खडेरीका कारण बस्तीहरू उठ्दैछन्, मधेसमा भने बाढीको प्रकोप बढ्दो छ । पानी र बाढीको निहुँमा धमिलो पानीमा माछा मार्नेहरूले झगडाको डँढेलो लागाइदिने सम्भावना प्रवल छ । यसकारण प्राकृतिक स्रोतलाई कलह हैन बुद्धले सिकाएजस्तै आपसी छलफलबाट टुङ्गो लगाउनु सबैको हितमा हुनेछ । अन्यथा स्रोतको लागि हुने झैझगडाको दुष्परिणामले हामीलाई फर्किनै नसकिने गरी अस्तित्व गुम्ने भीरसम्म पुर्याउने छ ।

दिनेशराज भुजु

Comments

comments