‘म उही मान्छे’

मान्छेको जिन्दगी कहाँ बाट शुरु हुन्छ अनि कहाँ अन्त हुन्छ त्यसको कुनै टुंगो हुदैन। सानो हुँदा गुनगुनाउदै “गाईको चरन, कहाँको जन्म हो कहाँ मरन” भन्दै गीत गाएको याद आउँछ। मकालु हिमालको फेदीमा जन्मी त्यहि स्वच्छ सेरोफेरोमा बाल्यकाल बिताएको म एक साधारण परिवारमा हुर्की स्थानीय हावापानी र परिवेशमा २० सौं वसन्त पार गरी समयको लहर संगै आफ्ना आकांक्षाहरु पुरा गर्न २०४६/४७ तिर परदेश धकेलिने बाध्यताको संघारमा उभिएको मान्छे हुँ। स्थानीय स्तरमा नै शिक्षा दिक्षा प्राप्त गरी प्रबिणता प्रमाण पत्र तहको अध्ययन पश्चात उच्च शिक्षा हाँसिल गर्न राजधानी तर्फ हानिनु पर्ने रहर सायद समयको माग थियो। भविष्यका अनेकौं सपनाहरु बुन्दै घरबाट परदेश निस्किए पछि मात्र वास्तविक संसारको अनुभव भयो जुन कुरा पहिले कल्पना पनि गर्न सकेको थिइन। अनिदो, भोक, तिर्खा, बेखर्ची जस्ता कुराहरु केवल मेरो आफ्नै पर्याय हुँदै गयो।

यसै लहरमा केहि गर्छु भन्ने सोच लिएर घरको न्यानो माया बाट टाढिनु पर्ने निर्णय भयो र सानो कुम्लो बोकेर राजधानी तर्फ हानिएँ। आफ्नो घरको स्वतन्त्रताबाट खुम्चिएर अरुको खटन र हैकममा बस्नु पर्ने साथै महिनावारी भाडा तिरेर पनि आफुलाई चाहिने स्वतन्त्रता नपाइने कुराले अझ मन खिन्न हुने अवस्था सृजना हुन्थ्यो। “पानी धेरै प्रयोग भयो, बिजुली धेरै प्रयोग भयो, राति धेरै नबस”, कहिले साथीभाई आउँदा “मान्छे धेरै किन”? सौचालय पनि धेरै प्रयोग भयो भन्ने घरबेटीको किचकिच सधैं सुन्नु पर्ने हुन्थ्यो। लुगा कपडा नै पनि कति पो हुन्थे र ता पनि कहिले कहीं नुहाउँदा, लुगा धुने क्रममा “कति धेरै लुगा धोएको, पानी छैन” भनेर ट्यांकी बन्द गर्ने प्रब्रिती देखि मन ज्यादै बिरक्तिने गर्दथ्यो । आफु संग पैसा नहुंदाको पिडा अनि त्यसैको सजाय आफुले भोगी रहेको समयमा म पनि कुनै दिन आफ्नो स्वतन्त्र जीवन जिउन सक्छु भन्ने दृढ संकल्प लिएर विकल्पको खोजमा भौतारिने गर्दथें। जिन्दगी के हो भनेर बुझ्ने यो शुरुवातीका दिनहरुमा आफुलाई एक निकम्मा वा असक्षम व्यक्तिको रुपमा पनि नउभ्याएको होइन तर म जस्ता वा म भन्दा पनि दु:ख पाएकाहरुलाई हेर्दा आफुलाई निकै भाग्यमानी ठान्दै कुनै विकल्पको खोजीमा निरन्तर अगाढी बढ्न आफैंलाई हौस्याई रहें।

मान्छेलाई आफ्नो प्रारम्भिक आवश्यकता नै पुरा गर्न नसक्ता कतिलाई गुहार्न पुगियो, कतै ठुला मान्छेहरुको एक शब्दले हामी जस्ता रोजगारीको खोजीमा भौतारी रहेको मान्छेलाई भविष्यको सुनौलो ढोका खुल्ने सम्भावना हेर्दै धेरैका घरदैलोमा धाइयो, तर उनीहरुका शब्दहरु निकै दुर्लभ र महँगो भएको भान भयो। किन मान्छेले मान्छेलाई यस्तो स्तरमा हेर्ने गर्छन् भनेर आश्चर्य पनि लाग्ने गर्थ्यो। उनीहरुको भाग खोस्न गए झैं सम्झने मनस्थिति भएका मान्छेहरु संग अति नै चिढिने गर्दथें र उनीहरुको अगाढी कहिल्यै नजाने निधो समेत गरेको थिएँ। यस्ता मान्छेहरुको व्यवहार देख्दा आफुलाई आफ्नो कुनै मूल्य नभएको महशुस हुने गर्दथ्यो। लाग्दथ्यो मान्छे किन मान्छे संग यति छुच्चो हुन्छन्? मैले अनुभव गरेको नेपाली संस्कृति र सामाजिक शिक्षाको पाठले आफैंलाई जिस्क्याएको अनुभूत गरी रहन्थें। “अतिथि देवो भव:” पाहुनालाई सत्कार गर्ने नेपाली परम्परा त ठुला ठुला शहरहरुमा नहुने रहेछ, संस्कार र संस्कृति त सानो कुनामा मर्न लागेको धिपधिपे बत्ती जस्तो हुदै गरेको अनुभव भयो। ठुला ठालु हैकम वालाहरुको मात्र बोलवाला हुने र उनीहरुको मात्र कुरा सुनुवाई हुने, एक निरिह व्यक्तिलाई भुस्याहा कुकुरको दाँजोमा पनि व्यवहार नहुने प्रथाले कलिलो मगजलाई निक्कै ठुलो असर पारेको थियो। कतिको ढोका ढक्ढक्याउन पुगियो तर मेरो समस्यामा कसैले पनि अलिकति सहानुभूति नदेखाउँदा आफुलाई बेकम्मा भएको पनि महसुस भएको थियो। नचिनेको र नभेटेको मान्छेलाई चाहे त्यो आफ्नै ठाउँको किन नहोस कहिले पनि नजिकबाट नहेरिँदो रहेछ। कि त चाकडी गर्नु पर्यो कि त आफन्त नै हुनुपर्यो, आफु भने यो दुवै कुराबाट नजिक नभएको व्यक्ति परेको हुनाले मान्छेहरुको भिडभित्र म एक्लो मान्छे हुन विवश थिएँ।

एक जना महासय राजाको सचिव भन्थे -मेरो लागि त धेरै ठुलो मान्छे -को घरसम्म हाइ गुहार माग्न पुगियो तर म जस्तो भुसुनाको के कुरा सुनिन्थ्यो र? कति पढेको छस्? भनी प्रश्न गरियो र मैले आफ्नो सबै कुरा बताएँ तर जति विलौना कहे पनि मेरो अवाज बहिरोको कानमा परे सरह नै भयो। सुनिन्थ्यो वहाँ पनि मेरै जिल्लाको एक सफल र सक्षम व्यक्तित्व हुनुहुन्छ भनेर तर मेरो लागि कुनै सक्षमताको परिचय वहाँबाट पाउन सकिन। यसै गरी भौतारिंदै हिड्दा एउटा कन्सल्टेन्सीमा अलिकति काम गर्ने मौका पाएँ र अलिकति सास आयो केहि समयको लागि, काम भने काठमाण्डौं उपत्यकाको नक्सामा रंग भर्ने, सजिलो नै थियो। तर त्यो सानो योजना भएकोले लामो समयसम्म रहन सकेन र फेरी उही सडक र गल्लीहरुमा दैनिक भौतारिन थाले उसै गरी जसरी पहिले केहि महिना अगाढी दगुर्दै आईरहेको थिएँ। मान्छेहरु पैसा खर्च गरेर रमाइलो गरिरहेको, ठुला ठुला गाढी चढेको, राम्रा र महंगा पहिरनमा सजिएर हिडेको देख्दा आफुलाई भने दैनिक रोजीरोटीले पिरोलेको अवस्थामा यी सब वाहियात, अनावस्यक तुजुक देखाएको जस्तो लाग्थ्यो। आफ्ना दौंतरीहरुलाई हेर्दा के म मात्र यसरी संघर्ष गरीरहेको छु झैं लाग्थ्यो।

उनीहरुको ढाँचा, लवाई, खुवाई, बसाई, उठाईले मलाई ज्यादै पिरोल्ने गर्थ्यो। उनीहरुले गर्ने खर्च अलिकति मात्र बचावट गरेर मलाई दिए पनि त केहि सन्तुष्टिको स्वाश फेर्न पाइन्थ्यो झैं लाग्थ्यो। मेरो मनमा लाग्थ्यो म पनि निक्कै पैसा कमाएर जीवन सफल बनाउँछु अनि मनभरीका रहर पुरा गर्नेछु कुनै दिन। यस्तै जुर्मुराउदै गरेको कलिला मुनाहरु फक्रिन नपाईकन नै ओइलाउने सम्भावनाले मनमा ठुलो हलचल ल्याउन खोज्थ्यो। एका बिहानै गलबन्दीले अनुहार बेरेर काठमाण्डौंको चिसो हुस्सु संग चुनौती खेल्दै चोर गल्लीको बाटो केहि नोटकापी च्यापेर कलेज जाने क्रम हुन्थ्यो। चिसोमा सास फेर्दा गलबन्दी बाहिर शित परे झैं वाफ जमेको हुन्थ्यो। कलेजमा पढाई भन्दा पनि ने.बि, संघ र अनेरास्वबियुको राजनितीमा दुई पक्षको झडप कुनै न कुनै निहुँमा परी रहने हुनाले खासै ध्यान दिएर पढ्ने वातावरण नै हुदैनथ्यो। पैसा हुनेहरुका छोराहरु मोटर साईकलमा आउने, क्यान्टिनमा जम्मा हुने धोबी गफ छाँट्ने र पढाई बिथोल्ने गर्थे। ल र आर आर क्याम्पसका विध्यार्थीहरु आआफ्नै पकडको बाहुल्यता भएको तर संगै रहेको थियो। म भने धेरै पढेर जागिर खाने ठुलो सपना बोकेर हिडेकाले पढाई नियमित भए हुन्थ्यो झैं लाग्थ्यो।

यसैगरी रोजगारी खोज्ने क्रममा कहिले नसोचेको क्षेत्र पत्रकारिताको पनि थोरै अनुभव गर्ने मौका मिलेको थियो। कुरो २०४८ साल तिरको हो, जब जागिर खोज्दै हिड्दा थाकेर हैरान परेपछि के गरौं, कसो गरौं भनी छट्पटाहट हुन्थ्यो तब काठमाण्डौंले मलाई अटाउन नसकेको झैं लाग्दथ्यो। त्यो बेला जे काम पाए पनि गर्छु भन्ने सोच लिएर बसेको थिएँ। एक जना दाईले देशान्तर साप्ताहिकमा काम सिक्ने हो भने मौका छ भन्नु भयो र देशान्तरको अफिस पुतली सडकमा पुर्याउनु भयो। आफुलाई पत्रकारिताको बारेमा केहि जानकारी छैन के गर्नु, के भन्नु भनी हिच्किचाउदै निर्धारित समयमा अफिसमा पुगें। कोहि चिनेजानेको छैन, के गर्ने हो, के भन्ने हो भनेर खुल्दुली भई रह्यो। भित्र पुगेपछि धेरै जना म जस्तै र म भन्दा धेरै अनुभवीहरु आफ्नै व्यस्ततामा भुलिएको देखें। कोहि आफ्नो स्थलगत रिपोर्टलाई समाचार बनाउदै थिए, कोहि सकेर पत्रिकाको लागि स्तरिय भए नभएको छानबिन गर्ने गराउने गर्दै थिए। बल्ल थाहा भयो त्यहाँ आफुले समाचार बनाएर दिएपछि यदि राम्रो र स्तरीय भएमा पत्रिकामा छापिने रहेछ। जुन कुरो मैले सिक्नु पर्ने रहेछ। बल्ल पत्रिका पढ्दा अलि ध्यान दिएर पढ्न थालें, प्रयोग गरिने भाषा र त्यसको बनावटहरुको बारेमा अलि चासो राख्न थालें। अरुले तयार पारेका खबरहरु अलि नियालेर पढ्न थाले। यसै प्रसंगमा स्थलगत रिपोर्टका लागी विभिन्न ठाउँमा पठाइन्थ्यो र समाचार जम्मा गरी पेस गर्नु पर्थ्यो। मेरो भागमा नियमित स्तम्भको रुपमा आउने रगतको बिवरण जम्मा गर्ने काम परेको थियो। ब्लड बैंकमा गएर कुन रगत कति छ र कुन रगत दुर्लभ छ भनी रिपोर्ट तयार पार्ने काम मेरो जिम्मामा परेको थियो। केहि पटक बीर अस्पतालमा समेत विभिन्न घट्नाको विवरण लिने क्रममा मलाई पठाईएको थियो। काम अप्ठ्यारो नभएको तर नयाँ खुराक समाचारको रुपमा पहिलो रिपोर्ट गर्न पाए आफुलाई सन्तुष्ट हुने सम्भावनाले गर्दा निकै पैदल यात्रा हुन थाल्यो बिषयको खोजीमा गल्लीगल्ली, चोकचोक, मान्छेहरुको हुल र भिढहरुमा। यो बेला सम्म पत्रिका कसरी छापिन्छ, कसले सम्पादन गर्दैछ भनेर पनि थाहा थिएन। किशोर नेपाल, शिव अधिकारीको सामु आफ्नो समाचार पेस गर्दा स्तरिय नभए तुरुन्त आफैमा फिर्ता हुन्थ्यो। कसरी आफ्नो समाचार राम्रो र नयाँ ढंगले प्रस्तुत गर्न सक्छु भन्ने कुरामा सबको ध्यान केन्द्रित थियो। त्यो समयमा थाहा थिएन उहाँहरु कुन स्तरका मान्छेहरु हुनुहुदो रहेछ   भनेर, पछी मात्र थाहा भयो उहाँहरुको सम्पादन र निर्देशनमा त्यो पत्रिका प्रकाशित हुने कुरा। पत्रकारिता पढ्ने आफ्नै कलेजका साथीहरु पनि त्यहाँ काम गर्दा रहेछन, त्यो पनि पछि मात्र थाहा भयो।

जिन्दगीमा पहिलो पटक अनुभव लिने क्रम थुप्रै भए जस मध्ये पत्रकारिता क्षेत्रमा काम गर्नु, पहिलो पटक मेरा सिकारु कलमले लेखिएका समाचार प्रकाशित हुँदाको अनुभव, पहिलो पटक कफीको स्वाद लिदाको अनुभव सबै यहि देशान्तर साप्ताहिकले दिएको थियो। यस्तै विकल्पको खोजीमा भौतारिने क्रममा जिन्दगीमा नसोचेको क्षेत्र बेलायती सेनामा भर्ति भई नसोचको ठाउँमा हाल आफ्नो जीवन बितिरहेको छ। आज म जुन क्षेत्रमा छु बिल्कुलै फरक र मैले गर्न चाहेको भन्दा भिन्दै किसिमको वातावरणमा बाँधिएको छु, सायद भाग्यले यसरी आफ्नो कर्म थलोमा धकेलेको कारण नै आज म आफुलाई यो ठाउँमा पाउँछु। सोचे जस्तो सबै कुरा नहुने पुष्टि पनि भएको महशुस हुन्छ। आखिर जीवन आफ्नो रफ्तारमा हिडीरहन्छ तर त्यो गतिलाई छिटो वा ढिलो बनाउनु नै संघर्ष रहेछ। आलोकाँचो अवस्थामा कुनै पनि कुराले मनलाई बहकाउने हुँदा जिन्दगीका धेरै निर्णयहरु गल्ति हुने गर्दछन्। सपनाहरु साकार बनाउन विकल्पको खोजीमा अनेक अनुभवहरु लिनु र गर्नु पर्ने हुन्छ। सुनौलो सपनाहरु बोकेर कल्पनाको सागरमा तैरिरहेको जीवनमा कुनै अवसर पाउँनासाथ हतारिएर त्यसैलाई आत्मसात गर्न पुगिंदो रहेछ। मकालुको काखमा जन्मेको त्यो अनुभव विहिन व्यक्ति यो विशाल संसारमा ठुलो पोखरीमा सानो माछा झैं भएको छु। अन्दाजमा अपरिचित ठाउँमा हाम फालेर स्वदेश छोडियो जसको फलस्वरुप आज आफ्नै गतिमा आफुलाई हिडाउदै छु लगातार बिदेशी भूमिमा लख्रक लख्रक।

समय बित्दै जाँदा पहिलेका सबै सपनाहरु बिलाएर गए, ईच्छा परवर्तन भए। देखासिकी र समाजको दबाबमा नचाहेको कुराहरु पनि सिक्नु पर्ने बाध्यतामा परियो। नाच्ने बानी नभए पनि नाच्नु पर्ने, खाने र पिउने बानी नभएका कुराहरु पनि खानु पिउनु पर्ने, गर्न नहुने कुराहरु पनि गर्नु पर्ने जस्ता अनेकौं अनुभवहरु संगाल्न पुगियो। पुराना हितैसी मित्रहरु सबै अब त एक बिगतका सम्झनामा मात्र सिमित रहेको छ। जब आफ्नो जिन्दगीको गोरेटोमा आफु हिडियो त्यसै गरी सबै जना चार दिशामा तितर बितर भएर आआफ्नै गतिमा कोहि दगुर्न थाले कोहि बामे सर्न थाले। मैले भने जिन्दगीको लामै फड्को मारेको अनुभव लिंदै बिरानो देशमा आफुलाई अरुको सभ्यता सिकाउने कोसिस गरी रहेको छु। नयाँ साथीहरुसंगको संगत बढ्दै जाँदा नयाँ भावनाहरु साट्ने क्रम चली रहेछ। यहि क्रममा कति जना संग नजिकको मित्रता पनि गाँसियो भने कतिसंग क्षणिक कालको लागि मात्र मित्रता कायम भयो।लाग्छ कतै मेरा बाल सखीहरुसंगको रमाईलो समय सदाका लागी पुर्ण बिराम लागेको त हैन वा अब कुनै हालतमा पनि फर्केर बिगतका दिनमा पुग्न नसकिने पक्का भएकै हो त ? कहिले काहीं सिमित साथीहरु संग सामाजिक संजालमा भेटघाट हुन्छ र हाई हेल्लोको औपचारिकता हुन्छ तर उही पुरानो किसिमले बिना जिम्मेवारीको जीवनमा पुग्न असम्भव प्राय: नै छ। मलाई लाग्छ समयले निक्कै फड्को मारी सकेको हुनाले हाम्रो जिम्मेवारी पनि धेरै बढी सकेको छ। आफु रमाउने हैन आफ्नो परिवार र सन्तान रमाएको हेर्न सबैको जीवन ब्यस्त रहेको देखिन्छ।

जब आफ्नो देशबाट टाढा बसिन्छ देशको माया र आफ्नो बिगतका कुराहरुले मनमा चिमोटी रहन्छ। उही मकालुको फेदमा जन्मेर हुर्केको एक गाउँले केटो आज संसारकै एक सपनाको शहर लण्डनमा दैनिक काम गरिरहेको छु। विकल्पको खोजीमा नचिताएको कुराहरु यहि जीवनले भोगेको र देखेको छ। बाल्यकालमा यो शहरको नाम सुन्दैमा अचम्म लाग्ने गर्दथ्यो तर आज यहि शहरको जीवनीसंग वाक्क भएको र यहाँको सभ्यताको अनुभुत प्रत्यक्ष गर्नु पर्दा आफ्नै गाउँघरको जनजीवनसंग नै जैविकता भएको महसुस हुन्छ। यहाँ मानवता, सभ्यता सब सैदान्तिक मात्र भेटिन्छ र सब देखावटी हुन्छन्। व्यवहारमा यसलाई खोज्न शहर बाहिर निस्कनु पर्दछ, गाउँ गाउँमा जानु पर्दछ। सबै कुरा नारामा मात्र सिमित छ। जिन्दगीमा आफुले सोचेको धेरै कुराहरु सोचे भन्दा फरक पाउँछु। अनि आफुलाई पाउँछु उही गाउँ घरको मायाले सताईएको तर शहरका मान्छेहरुको भिड भित्र हराई रहेको म उही मान्छे।

 

सेमन्त राई

संखुवासभा

हाल वेलायत

 

Comments

comments