तामाङ ल्होछार सँस्कृति र परम्परा !!!


तामाङ ल्होछार सँस्कृति र परम्पराः
हावापानी, खोलानाला, पहाड र माटो अनुरुप सामाजिक, साँस्कृतिक, जीवनशैली र सभ्यताको विकास भएको पाइन्छ, यही विकसित शैलीलाई संस्कृति भनिन्छ र संस्कृति जातिको पहिचान हो । संस्कृतिले जाति चिनाउँछ र जातिले राष्ट्र चिनाउछ ।
हिउँदे शीतकालिन महिनाहरु क्रमशः पुस, माघ र फाल्गुनमा धमाधम ल्होछार नै ल्होछार (नयाँ वर्ष) आरम्भ हुने क्रम शुरु हुन्छ । हिमाली पहाडी खण्डका धेरै जाति वर्षदिनकै ठूलो साँस्कृतिक पर्व आगमनको खुसियालीमा विविध उपयोगी उत्पादनमुखी कार्यमा आबद्ध हुन्छ । विश्व शान्तिको लागि प्रार्थना, पितृको सम्झनामा पुजापाठ, घरबस्ती धार्मिक स्थालमा सरसरसफाई पुनः निर्माण धर्जु फहराउने, लुङदर झुण्डाउने आदि कार्य गरी साँस्कृतिक उत्सवलाई स्वागत गरिन्छ, यो हो ल्होछार पर्व । हाल प्रचलित ल्होहरु तोला, सोनम र ग्याल्बो ल्हो हुन, यो क्रमशः पुस, माघ र फाल्गुनमा मनाईन्छ ।
नेपालका धेरै समुदायहरुको लागि ल्होछार साझा चाड हो, पर्व हो । ल्होछारले ल्होछार मान्ने समुदाय तथा सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउनुका साथै यसले प्रकृतिमा हुने नियमित परिवर्तनलाई बुझाउने र त्यस अनुकुल मानव गतिविधिलाई निर्देशित गरिरहेको हुन्छ ।
तामाङ समुदायले मान्ने सोनम ल्होछारको पहिलो दिन अर्थात नयाँ सम्वत आरम्भको दिन चन्द्रवर्ष पहिलो महिनाको पहिलो दिन हो, जुन माघ शुक्ल प्रतिपदामा पर्छ । यो सोनम जिवा ल्हो २८५६ मन्जुश्री सम्वत् २०७६ माघ ११ गते शुक्लप्रतिपदादेखि जिवा (मुसा) वर्षको रुपमा परिचित छ ।

ल्होको अर्थ र परिचयः
ल्हो – सम्वत, वर्ष, साल र उमेर हो । छार – नयाँ हो । एउटा ल्हो समाप्त भएर अर्काे ल्हो फिर्ने समयलाई ”ल्होछार” भनिन्छ । १२ ल्होको लागि १२ वटा जीवजन्तु तोकिएको हुन्छ । १२ वर्षपछि चक्र दोहोरिएर पुन त्यही ल्हो आउँछ । १२ वर्षको चक्रले ५ वटा चक्र पुरा गरेपछि पुनः त्यही खाम आउँछ । मुसालाई वर्षचक्रको सुरु मनिन्छ भने बँदेललाई अन्तिम ।

ल्होछार परम्पराको महत्वः
ल्होछारको धार्मिक, सामाजिक, आर्थिक, संस्कृतिक र मानव स्वास्थ जिवनमा यसको ठूलो महत्व रहेको छ । ल्होछारको दिनमा ग्रहदशा फाल्ने, मंगलोचारण पूजपाठ गर्ने गरिन्छ । परदेशमा भएकाहरु ल्होछारमा घर फर्कन्छन । प्रकृतिको नियम बुझेमा खेतिपाती सप्रन्छन ।
ल्हो परम्परा मान्नु अन्धविश्वास होइन यो चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने वैज्ञानिक विश्व दृष्टिकोण हो । चन्द्रमाको प्रभाव यो धर्तीमा परिरहेको हुन्छ, प्रत्येक जीवमा चन्द्रमाको गुरुत्वाकर्षणले काम गरिरहेको हुन्छ । मानव शरीरको ज्वरभाटमा चन्द्रमाको चुम्बकीय प्रभाव परिरहेको हुन्छ ।
प्राकृतिक तत्वहरुको संयोग, वियोग, अन्तरक्रिया र अन्तरसम्बन्धका आधारमा सम्बन्धको सूचना दिने वैज्ञानिक नियम सम्मत ज्ञान हो ल्हो परम्परा । यसले मानव शरीरले उत्पन्न गर्ने तरङग र प्रकृति तथा वातावरणबाट उत्पन्न भइरहने तरंगका क्रिया–प्रतिक्रिया र सम्बन्धको विश्लेषण गर्छ ।

ल्होखोर्लाे र खाम (वर्षचक्र र पञ्चतत्व)को मानव शरीरमा महत्वः
तामाङ भाषामा १२ वर्षे ल्होचक्रलाई “ल्होखोर च्युङी” भनिन्छ । यसमा पाँच तत्व (पंचतत्व) क्रमशः आगो, माटो, धातु, पानी र काठसंग प्रगाढ सम्बन्ध रहेको मानिन्छ ।
१२ ल्हो र पाँच खाम अनि १ दिनको २४ घण्टा मा प्रत्येक पल एक ल्होले शासन गरेको हुन्छ । ल्होमा सक्रिय, निस्क्रिय र स्थीर खाम हुन्छ ।
मानव शरीर अन्नपानीले बनेको हुन्छ, अलिक अध्यात्मिक भएर भन्दा पञ्चतत्वले बनेको हुन्छ । ल्हो परम्परा र तत्वज्ञानले हामी निरोगी र स्वास्थ रहनमा मद्दत गर्दछ । ल्होको पाँच तत्व खामहरुको हाम्रो शरीरमा ठूलो महत्व हुन्छ । स्वस्थ जीवन चाहनेले खाम तत्वज्ञान हुनु जरुरी छ शरीरमा कुनै पनि तत्वको कमी हुन दिनु हुँदैन ।
आयुर्वेद अक्युपन्चर प्रणालीअनुसार फोक्सोसंग धातु, मुटुसंग आगो, मृगौलासंग पानी, आन्द्र र पाचनग्रन्थीसंग माटो र कलेजोसंग काठ तत्व निहित हुन्छ । यी तत्वको कमी वा बढी पहिचान गरेर रोगको निदान गर्नुपर्छ । जब माटो (पाचनग्रन्थी) प्रभावित हुन्छ धातु (मुटु) कमजोर हुन्छ । पानी (मृगौला)को कमीले सहयोद्ध काठ (कलेजो) विग्रन थाल्छ ।

ल्होछारबारे सात कुराः
१. ल्होछार चन्द्रपात्रो (तिथि)मा आधारित छ ।
२. बोन होस वा बौद्धमार्गी सबै समुदायमाझ यसको ठूलो महत्व रहेको छ ।
३. ल्होछार पुरै एशिया अनि विश्वभरीमा नै यो नयाँ वर्ष मनाईन्छ ।
४. यो जहिले पनि औसीको भोलिपल्ट शुक्लपक्षकै दिन शुरु हुन्छ ।
५. तामाङ लगायत आदिवासी जनजातिमा यो पर्व संस्कार र अस्तित्वसंग जोडिएर रहेको छ ।
६. ल्होमा बिभिन्न प्राणीहरुको स्वभावको प्रभाव रहेको हुन्छ, यसको बौद्धमार्गीमाझ एउटै कथा छ ।
७. ल्होको पूर्ण ज्ञान पश्चातः पानी, काठ, आगो, माटो र धातु जस्तो ५ खाम हरुको साथ, यसमा निहित भाले र पोथीस्वभावको पनि प्रभाव रहन्छ भन्ने ज्ञान हासिल हुन्छ ।

ल्होछार पर्वको पहिलो सरकारी मान्यताः
बिभिन्न जाति आदिवासी समुदायको प्रयासमा नेपालमा पहिलोपल्ट २०५१ सालको पुस १६ गते ल्होछारले सरकारी मान्यता प्राप्त ग¥यो र तत्कालीन श्री ५ को सरकारले ल्होछार मान्ने सरकारी कार्मचारीहरुलाई प्रत्येक वर्षको माघ शुक्ल प्रतिपदाका दिन ल्होछारको सार्वजनिक बिदा दिने घोषणा ग¥यो । त्यसदिन देखि ल्होछारले नेपालमा राष्ट्रिय संस्कृतिक पर्वको रुपमा मान्यता प्राप्त ग¥यो र यो तामाङ लगायतका जनजातिको साँस्कृतिक चाडका रुपमा स्थापना हुन पुग्यो ।

अन्त्यमा
भौगोलिक र ज्योतिषको फरक मतको कारणले गर्दा ल्होछार मान्ने समय र तिथिमिति फरक परेको हो । कुनै एउटा ल्होछारलाई सबैले एकताको प्रतीक मानी मनाउन प्रयास हुनु जरुरी देखिन्छ ।
तामाङले डम्फु र सेलो बिर्सने, शेर्पाले स्याब्रु बिर्सने, गुरुङले रोधी बिर्सने, राइ लिम्बुले उधोली उभोली चखेवा धान नाच बिर्सने, नेवारले न्हुदय भिन्तुना बिर्सने, तराईबसीले माघी छठ बिर्सने हो भने हाम्रा विविध जानजातिका सांस्कृतिक लोकसम्पदा लुप्त भयो भने नेपालको पहिचान गुम्नेछ । थुजेछे । धन्यवाद ।

बिगेन्द्र वाईबा तामाङ, संघीय सदस्य नेपाल तामाङ घेदुङ

Comments

comments